'मधेश अलग हुनुपर्छ' भन्दै आपत्तिजनक अभिव्यक्ति

एसपीले गाली दिएको भन्दै फरार जसपा नेता अशोक यादवले गुहारे बिहार सरकार

काठमाडौं, २३ असार। प्रहरीले खोजी गरिरहेका जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक यादवले आफ्ना गतिविधिलाई राजनीतिक र साम्प्रदायिक रंग दिन खोजेका छन्।

 

अज्ञात स्थानबाट एक भिडियो वक्तव्य सार्वजनिक गर्दै उनले नेपालमा आफूलाई शोषण र दमन गरिएको दाबी गरेका छन् भने मधेस नेपालबाट अलग हुनु पर्ने आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

 

हिन्दी भाषामा जारी उक्त भिडियोमा यादवले भारतको बिहार सरकारसँग सहयोगको माग गर्दै भनेका छन्, “नेपालमा मधेसीहरूमाथि नागरिकतादेखि विभिन्न मुद्दामा अपराधी बनाउने खेल चलिरहेको छ। पुलिस प्रशासनले मलाई यातना दियो, टर्चर गर्‍यो। जनताको शक्तिले म जोगिएँ र मधेस सरकारको गठन भयो।”

यादवले सर्लाहीका एसपीमाथि आपत्तिजनक शब्द प्रयोग गर्दै गाली दिएको आरोप लगाएका छन्। उनले भनेका छन्, “जनताबाट खबर पाएँ कि एसपीले राति कार्यालय खोलेर कमिसन उठाउँदै छन्। प्रमाणका रूपमा फोटोसमेत आयो। म आफैँ एसपीकहाँ गएँ। मलाई उनले ‘साले’ भनेर गाली गरे। म पनि आन्दोलनकारी हुँ, केही शब्द मेरो मुखबाट पनि निस्किए।”

उनले भारतलाई अपिल गर्दै भनेका छन्, “नेपालका आन्दोलनकारीहरूलाई भारतले सधैं शरण दिएको छ। म बिहार सरकार, भारत सरकार र पुलिस प्रशासनसँग आग्रह गर्छु—नेपालको एसपीको भरमा कुनै कदम नउठाउनुहोस्। उनीहरू नस्लवादी र मधेस विरोधी छन्।”

भिडियोमा यादवले मधेस अलग हुनु पर्ने धारणा राख्दै थप भड़काउ अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, “नेपालमा मधेसीहरूलाई आज पनि दोस्रो दर्जाको नागरिक बनाइएको छ। खसवादी शासनले सदियौँदेखि दमन गरिरहेको छ। अब समय आएको छ—मधेस अलग हुनुपर्छ। आज नभए भोलि हुनेछ। म रहूँ या नरहूँ, मधेसको अर्को पुस्ताले यो काम पूरा गर्नेछ।”

यसअघि, यादवमाथि राज्यविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धान अघि बढाइएको छ। तर उनले आफूलाई राजनीतिक प्रतिशोधका कारण निशाना बनाइएको दाबी गर्दै देश बाहिरबाट विरोधको स्वर उचालेका छन्।

नेपाल प्रहरीले भने यादवको गतिविधिबारे अनुसन्धान भइरहेको बताउँदै उनलाई देशको अखण्डताविरुद्ध अभिव्यक्ति दिएको आरोपमा कारवाही प्रक्रिया अघि बढाउने संकेत दिएकाे छ ।

Share:

सम्बन्धित समाचारहरु