काठमाडौं,२१ असार । हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर मौसम बदली भइरहेको छ ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।
देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज रातिसमेत देशभर साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको भन्दै सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी दिएको छ ।
यसले दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातमा समेत असर पुर्याउन सक्ने भएकाले सर्वसाधारण र सरोकारवाला निकायलाई आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन आग्रह गरिएको छ ।


