विनयी खोलाको पुलको निर्माण कार्य सकिएसँगै आजदेखि सवारी साधन संचालनमा आयो

नवलपुर,१९ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको विनयी खोलामा निर्माण गरिएको नयाँ पुलको निर्माण कार्य सकिएसँगै आजदेखि सवारी साधन संचालनमा आएको छ ।

नारायणगढ–बुटवल सडक आयोजनाका अनुसार पुलमा कालोपत्रे लगायतका सबै निर्माण कार्य सम्पन्न भइसकेकाले आसार १९ गते दिउँसोदेखि सवारी संचालनमा आएको हो ।

यसअघि सञ्चालनमा रहेको पाँच दशक पुरानो फलामे पुल गत पुस २६ गते एक भारतीय ट्रकले क्षति पु(याएपछि सवारी साधन अस्थायी डाइभर्सनमार्ग प्रयोग गरेर जोखिमपूर्ण रूपमा सञ्चालन हुँदै आएको थियो। खोलामा पानीको बहाव बढेपछि डाइभर्सन बारम्बार बग्ने, सवारी जाम सिर्जना हुने, यात्रुहरू घण्टौँ अलपत्र पर्ने, र साना सवारीसाधनलाई वैकल्पिक घुमाउरो बाटो अपनाउनुपर्ने बाध्यता रहँदै आएको थियो।

सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार २४५ मिटर लामो र ७।५ मिटर चौडा उक्त पुलमा पैदलयात्रुहरूका लागि फुटपाथसमेत निर्माण गरिएको छ।

नयाँ पुलमार्गबाट सवारी सञ्चालन भएपछि यात्रुहरूलाई सहज हुनेछ । बर्खायाममा देखिने समस्या हट्नेछ।”

 

Share:

सम्बन्धित समाचारहरु