नवलपुरको विनयी खोलामा नयाँ पुल भोलिदेखि सञ्चालनमा, पाँच दशक पुरानो पुल विस्थापित

नवलपुर,१८ असार ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको विनयी खोलामा निर्माण गरिएको नयाँ पुल भोलिदेखि सवारी साधन सञ्चालनका लागि खुला गरिने भएको छ।

नारायणगढ–बुटवल सडक आयोजनाका अनुसार पुलमा कालोपत्रे लगायतका सबै निर्माण कार्य सम्पन्न भइसकेकाले आसार १९ गते बिहान ११ बजेदेखि सवारी आवागमन सञ्चालन गरिनेछ।

यसअघि सञ्चालनमा रहेको पाँच दशक पुरानो फलामे पुल गत पुस २६ गते एक भारतीय ट्रकले क्षति पु-याएपछि सवारी साधन अस्थायी डाइभर्सनमार्ग प्रयोग गरेर जोखिमपूर्ण रूपमा सञ्चालन हुँदै आएको थियो। खोलामा पानीको बहाव बढेपछि डाइभर्सन बारम्बार बग्ने, सवारी जाम सिर्जना हुने, यात्रुहरू घण्टौँ अलपत्र पर्ने, र साना सवारीसाधनलाई वैकल्पिक घुमाउरो बाटो अपनाउनुपर्ने बाध्यता रहँदै आएको थियो।

सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार २४५ मिटर लामो र ७.५ मिटर चौडा उक्त पुलमा पैदलयात्रुहरूका लागि फुटपाथसमेत निर्माण गरिएको छ।

उनले भने, “भोलिदेखि नयाँ पुलमार्गबाट सवारी सञ्चालन भएपछि यात्रुहरूलाई सहज हुनेछ, बर्खायाममा देखिने समस्या हट्नेछ।”

दाउन्ने क्षेत्रमा पनि तीव्र गतिमा काम-

साथै, आयोजनाले दाउन्ने क्षेत्रमा समेत सडक विस्तारको कार्यलाई तीव्रता दिएको जनाएको छ। बर्खायाममा सवारी सञ्चालन सहज बनाउने उद्देश्यले विभिन्न खण्डहरूमा पूर्वाधार निर्माण तथा सुधारको काम जारी रहेको बताइएको छ।

नयाँ पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको यो खण्डमा यात्रु र सवारी दुवैका लागि सहजता आउने विश्वास गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु