माडीको सिमरा गाउँलाई ‘थारु जीवित संग्राहलय’ बनाउने योजना, थाकसका नेतृत्ववर्गले दिए रचनात्मक सुझाव

चितवन, २८ जेठ । चितवनको माडी नगरपालिका वडा नं. ३ स्थित सिमरा गाउँलाई ‘थारु गाउँ’को रूपमा विकास गर्न थारु कल्याणकारिणी सभाका नेतृत्वसँग बुधवार भरतपुरमा छलफल गरिएको छ। भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएसँगै दुवै पालिकाले उक्त परियोजनालाई प्राथमिकतामा राखेर अघि बढाएका छन्।

परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्नका लागि प्रारम्भिक चरणमा विभिन्न सरोकारवालासँग छलफल भइरहेको डिपिआर समिति संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए।

यसअघि माडीमै पनि परियोजनाबारे विभिन्न चरणमा छलफल भइसकेको छ। माडी नगरपालिकाले परियोजनालाई प्राथमिकता दिँदै कार्यपालिकाको बैठकमार्फत यसमा काम अघि बढाउने निर्णय गरिसकेको उपप्रमुख खेमप्रसाद महतोले बताए। “यो प्रारम्भिक छलफल हो,” उनले भने, “राय, सुझाव संकलन भइरहेको छ। सबैको राय र सुझावका आधारमा परियोजना अगाडि बढ्नेछ।”

छलफलमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, माडी नगरपालिका वडा नं. ३ का अध्यक्ष पुरन महतो, वडा नं. ४ का अध्यक्ष एवं पर्यटन समिति संयोजक माव चापागाई, भरतपुर महानगरका पर्यटन सल्लाहकार विश्वराज सुवेदी, थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीसहित जिल्ला कार्यसमिति र केन्द्रीय परिषद्का पदाधिकारी तथा क्षेत्रीय सभापतिहरूको उपस्थिति थियो।

थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले आदिवासी जनजातिको अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धीअनुसार बनेका नीतिहरू पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले भने, “थारुहरुको संस्कृति केवल देखाउने र मनोरञ्जन लिने विषय बन्नुहुँदैन। समुदायको आधारभूत आवश्यकता ग्यारेन्टी हुने र सांस्कृतिक पहिचान जोगाउने गरी ठोस योजना बन्नुपर्छ।” परियोजना राम्रो भएको भन्दै उनले कार्यान्वयनको क्रममा थारुहरूको स्थानमा गैरथारुहरू लाभान्वित नहोस् भनेर सचेत गराए।

‘माडी–भरतपुर सङहाती थारु गाउँ विकास परियोजना’ नाम दिइएको यस परियोजनाका लागि डी.आर.एस डेभलपर्स एण्ड डिजाइनर्स प्रा.लि. ले तयार पारेको प्रारम्भिक खाका प्रस्तुत गर्दै राय सुझाव लिइएको थियो। छलफलमा प्रस्तावित संरचना, प्राविधिक अध्ययन, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसारको अधिकार र कानुनी आधार लगायतका पक्षमा छलफल गरिएको थियो।

परियोजना अन्तर्गत सिमरा गाउँलाई जीवित संग्राहलयका रूपमा विकास गर्ने अवधारणाअनुसार थारु समुदायको मौलिकता जगेर्ना गर्ने, नयाँ पुस्तालाई संस्कृति बुझाउने, पर्यटकलाई आकर्षण गर्ने, शिक्षा र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने, स्वरोजगार सिर्जना गर्ने, उत्पादन संरक्षण र प्रवर्द्धनजस्ता उद्देश्य समेटिएको प्रारम्भिक दस्तावेजमा उल्लेख छ।

गाउँमा बन्ने सबै घरहरू परम्परागत थारु शैलीमा निर्माण गरिनेछन्। थारु महिलाहरूले बनाउने चित्रकलादेखि हस्तकला, गहना, घरेलु सामग्रीको प्रदर्शन हुनेछ। त्यस्तै, परम्परागत थारु खानाको स्वाद, सांस्कृतिक कार्यक्रम, लुगा र गहना लगाउने अवसरसमेत परियोजनामा समेटिएको छ।

–00—

Share:

सम्बन्धित समाचारहरु