काठमाडौं, २१ जेठ। हाल देशको पश्चिमी र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा भने मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेष गरी कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।
त्यसैगरी, देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ। आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना यथावत् रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले सावधानी अपनाउन मौसमविद्हरूको सुझाव छ। –00–


