भारतमा सक्रिय संक्रमित १०८१ पुग्यो, चार नयाँ कोरोना भेरियन्ट फेला

काठमाडौं १४ जेठ । भारतमा कोरोना संक्रमण पुनः फैलन थालेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या १,०८१ पुगेको छ। नयाँ संक्रमितहरू कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ जना थपिएका हुन्।

हाल सबैभन्दा धेरै संक्रमित केरलमा देखिएका छन्, जहाँ ४३० जना सक्रिय संक्रमित छन्। गुजरातमा १३ जना संक्रमित निको भइसकेका छन्। उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय वृद्धको मृत्यु भएको छ, जुन उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो।

थप ११ जनाको मृत्यु –
महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाले ज्यान गुमाएका छन्। यससँगै भारतभर कुल मृतक संख्या १२ पुगेको छ।

चार नयाँ भेरियन्ट फेला-
भारतीय चिकित्सा अनुसन्धान परिषद् (ICMR) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा चार नयाँ कोरोना भेरियन्ट—एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१—पत्ता लागेका छन्।
यीमध्ये जेएन.१ भारतमा सबैभन्दा धेरै देखिएको भेरियन्ट हो, जसले परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा उपस्थिति देखाएको छ।

विश्व स्वास्थ्य संगठनले यी भेरियन्टहरूलाई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ, तर अवस्था गम्भीर नभएको जनाइएको छ।

जेएन.१ को प्रभाव-
जेएन.१ भेरियन्ट ओमिक्रोनको बीए.२.८६ स्ट्रेनबाट उत्पन्न भएको हो। यसमा करिब ३० वटा म्युटेसन (परिवर्तन) छन्, जसले मानवको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ।
यो भेरियन्ट अमेरिका, युरोप लगायतका देशहरूमा समेत प्रमुख भइसकेको छ।

लक्षण र जोखिम –
विशेषज्ञका अनुसार जेएन.१ को लक्षण केही दिनदेखि लिएर हप्तौंसम्म देखिन सक्छ। धेरै लामो समय लक्षणहरू रहिरहेमा ‘लङ्ग कोभिड’ को जोखिम रहन्छ। यसले संक्रमित निको भइसकेपछि पनि थकान, खोकी, टाउको दुखाइ जस्ता लक्षणहरू दीर्घकालीन रूपमा देखिन सक्छ।

Share:

सम्बन्धित समाचारहरु