पूर्वपत्नी र दुई छोरीको बर्बर हत्या : सुजन कोइराला पुनः अपराधमा

बुटलव, १४ जेठ ।रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ कालिकानगरस्थित मिलिजुली पथ नजिकै एकै घरमा तीन जनाको दर्दनाक हत्या भएको छ। ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी दीपा बस्याल ढकाल (३०) र उनका दुई छोरी—स्नेहा ढकाल (७) र हिमान ढकाल (४)—को निर्मम हत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाका अनुसार, कोइरालाले पूर्वपत्नी दीपालाई भेट्न भन्दै घर बोलाएर चक्कु र घन प्रयोग गरी बुधवार बिहान तीनै जनाको हत्या गरेका हुन्। दीपा स्वास्थ्यकर्मी थिइन् र पाल्पाको एक स्वास्थ्य संस्थामा कार्यरत थिइन्। उनले सुजनसँग सम्बन्ध विच्छेद गरेर नवलपरासीका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन्। हत्या गरिएका स्नेहा र हिमान शंकर र दीपाका सन्तान हुन्।

पक्राउ परेका सुजन यसअघि आफ्नै दाजुको हत्यामा जेल चलान भई संविधान दिवसको अवसरमा सरकारले दिएको आममाफीपछि छुटेका थिए। हाल उनलाई पुनः प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनास्थलबाट चक्कु र घन बरामद गरेको जनाएको छ। स्थानीय बासिन्दा घटनाले आक्रोशित भएका छन् भने प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु