काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालै सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठक आफूलाई मात्र केन्द्रित भएको भन्दै गुनासो गरेका छन्।
“मलाई लागेको थियो बैठकमा देशको समसामयिक अवस्थाबारे गम्भीर छलफल हुनेछ,” कोइरालाले भने, “तर अचम्म लाग्दो गरी बैठक मेरो बारेमै सीमित रह्यो।”
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ जेठमा काठमाडौं कब्जा गर्न कार्यकर्तालाई दिएको निर्देशनबारे बैठकमा छलफल हुने अपेक्षा राखेका थिए। तर पार्टी नेतृत्वले यस विषयमा कुनै ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
“देशको सर्वोच्च पदमा बसेको व्यक्ति गैरराजनीतिक र मुठभेडको भाषा बोलिरहँदा कांग्रेसले आधिकारिक धारणा पनि नलिनु दुःखद हो,” कोइरालाले टिप्पणी गरे।
उनका अनुसार प्रधानमन्त्रीको हैसियत व्यक्ति मात्र नभएर संस्थाको पनि प्रतीक हो, त्यसैले त्यस पदमा बसेकाको प्रत्येक अभिव्यक्तिको महत्व हुन्छ।
विराटनगरमा आयोजित कांग्रेस शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन समारोहमा बोल्दै डा. कोइरालाले पछिल्ला दिनमा पार्टीले आफ्नो सैद्धान्तिक मौलिकता बिर्सन थालेकोप्रति पनि चिन्ता व्यक्त गरे।
“के बाध्यता आइपरेको छ कि प्रधानमन्त्रीले जे गरे पनि कांग्रेसले चुपचाप छुट दिइरहने ?” उनले प्रश्न गरे।


