काठमाण्डौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले देशको सम्पूर्ण भूमि राज्यको स्वामित्वमा ल्याउनुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमिसम्बन्धी अध्यादेशमाथिको छलफलमा भाग लिँदै चौधरीले वर्तमान भूमिव्यवस्था समतामूलक समाज निर्माणका लागि उपयुक्त नभएको जिकिर गरे । “भूमि राज्यको हुनुपर्छ,” चौधरीले भने, “जति भूमि छ सबै सरकारको स्वामित्वमा ल्याउनुपर्छ । आवश्यकताको आधारमा समय अवधि तोकी व्यक्तिलाई प्रयोग गर्न दिन सकिन्छ, तर स्वामित्व राज्यकै हुनुपर्छ ।”
उनले अहिले व्यक्ति तथा संघसंस्थाको नाममा कायम स्वामित्व, कित्ता नम्बर र लालपुर्जा खारेज गर्नुपर्ने आवश्यकता औँल्याए ।
चौधरीले भूमि विधेयक ल्याउने तरिका पनि आलोचना गरे । “जसरी विधेयक आएको छ, त्यो बेठिक छ,” उनले भने, “यसले जनताको पक्षमा न्याय र समानता दिन सक्दैन ।” उनको भनाइमा भूमि व्यवस्था परिवर्तन बिना समतामूलक समाजको परिकल्पना सम्भव छैन ।–00–


