विपीन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणाको पुनः आग्रह, कतारी विशेष दूतसँग भेट

काठमाडौँ, ३ जेठ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासद्वारा अपहृत नेपाली विद्यार्थी विपीन जोशीको अवस्थाबारे चासो व्यक्त गर्दै कतारसँग थप पहल गर्न आग्रह गरेकी छन्।

सगरमाथा संवाद २०२४ मा सहभागी हुन काठमाडौँ आइपुगेका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको शिष्टाचार भेटका क्रममा मन्त्री डा. राणाले उक्त आग्रह गरेकी हुन्।

भेटमा मन्त्री राणाले विपीन जोशीको रिहाइका लागि कतारले गर्दै आएको प्रयासप्रति आभार व्यक्त गर्दै थप कूटनीतिक पहल र निरन्तर समर्थन जारी राख्न आग्रह गरिन्। यसअघि पनि मन्त्री डा. राणाले कतारका विदेशमन्त्री र इजरायलसँग हमासबीच शान्ति वार्ताका प्रमुख मध्यस्थकर्ताहरूसँग जोशीको रिहाइका लागि बारम्बार अनुरोध गर्दै आएकी छन्।

२०२३ मा इजरायलमा हमासको आक्रमणका बेला बन्धक बनाइएका विपीन जोशीको सकुशल रिहाइ र स्वदेश फिर्ताका लागि अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर सहयोगको अपील गर्दै आएकी मन्त्री राणाले कतारको भूमिकालाई विशेष रुपमा महत्व दिँदै हालको भेटमा पनि विषय पुनः उठाएकी हुन्।

भेटका क्रममा मन्त्री डा. राणाले सगरमाथा संवादमा कतारको सक्रिय सहभागिताप्रति धन्यवाद ज्ञापन गर्दै, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–कतार सहकार्यलाई विस्तार गर्ने सम्भावनाहरूबारे पनि छलफल गरेकी थिइन्।–00–

Share:

सम्बन्धित समाचारहरु