कीर्तिपुर (काठमाडौं), ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रममार्फत मनाइँदैछ।
यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा काठमाडौंको बल्खुस्थित मदननगरमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा आयोजना हुने कार्यक्रम रहेको छ।
एमाले पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा रहेको पार्टीको केन्द्रीय कार्यालय निर्माणमा मदन भण्डारीकै अगुवाइ रहेको थियो। जनआन्दोलन २०४६ पछि खुला राजनीतिमा आएको एमालेले प्रारम्भमा बागबजारस्थित नेता नारायणविलास जोशीको घरमा पार्टी कार्यालय राखेको थियो। त्यसपछि उक्त कार्यालय बल्खुमा सारिएको थियो।
२०७२ सालको विनाशकारी भूकम्पले बल्खुस्थित कार्यालय क्षतिग्रस्त बनाएपछि भवन भत्काइएको थियो। हाल सो परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा मात्र रहेको छ। पछिल्लो समय एमालेको केन्द्रीय कार्यालय कहिले धूम्रबाराही त कहिले थापाथली सारिएको थियो। हाल भने च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टीको केन्द्रीय कार्यालय रहेको छ। तर, मदन–आश्रित स्मृति दिवसको दिन भने बल्खुको सोही परिसर विशेष रूपमा सम्झना र सम्मानका लागि केन्द्रबिन्दु बन्ने गर्छ।–00–
फाइल तस्विर

