चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

चितवन , २ जेठ । चितवनको भरतपुर महानगरपालिका–२५, शुक्रनगरमा एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोरामाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्।

४५ वर्षीय लिलाराज गिरीले आफ्नी करिब ७ वर्षीया छोरी प्रभा गिरी र दाजु दया गिरीका करिब ५ वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उपचारका क्रममा चितवन मेडिकल कलेज, भरतपुरमा दुबै बालबालिकाको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि लिलाराजले आफूलाई पनि सोही हतियारले घाँटीमा प्रहार गरेका थिए। उनी गम्भीर घाइते अवस्थामा उपचाररत छन्। हाल उनी होसमा छन् र बोल्न सक्ने अवस्थामा छन्, तर उनका छोरी र भतिजको अवस्था अत्यन्त गम्भीर रहँदा मृत्यु भएको हो।

घटनाको कारण अहिलेसम्म स्पष्ट नभए पनि प्रारम्भिक जानकारी अनुसार लिलाराज मानसिक सन्तुलन गुमाएका भूतपूर्व सैनिक हुन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु