प्रहरीमा आर्थिक अपराधका लागि छुट्टै युनिटको स्थापना

काठमाडौं, ३० बैशाख ।  प्रहरी प्रशासनले आर्थिक अपराधहरूको अनुसन्धान गर्ने उद्देश्यले छुट्टै युनिटको स्थापना गरेको छ। उक्त युनिट ठूला आर्थिक अपराधको अनुसन्धान र अनुसन्धानको कार्यलाई सहज बनाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमान्डमा सञ्चालनमा ल्याइएको हो।

प्रहरी प्रधान कार्यालयले वैशाख १७ देखि उक्त युनिटको काम शुरु भएको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, यो युनिट आर्थिक र वित्तीय अपराधको अनुसन्धानमा विशेष ध्यान केन्द्रित गर्नेछ।

यस युनिटमा १९ जना नयाँ दरबन्दी नियुक्त गरिएका छन् र प्रहरी प्रधान कार्यालयले सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो)मा कार्यरत एसएसपी होविन्द्र बोगटीलाई यसको कमान्डमा खटाएको छ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट स्वीकृति लिएर युनिट सञ्चालनमा ल्याएको जानकारी दिएको छ। एसएसपी थापाका अनुसार, आर्थिक र वित्तीय अपराध युनिटका बारेमा थप गृहकार्यपछि यसमा कार्यरत कर्मचारीको संख्या र कमान्डमा कुन दर्जाको प्रहरी अधिकारी रहने निर्णय गरिनेछ।

हाललाई यस युनिटलाई सीआईबीकै मातहतमा राखिएको छ र यसको कार्यालय लाजिम्पाट स्थित सीआईबी भवनमा रहनेछ। थापाले यस युनिटलाई भविष्यमा छुट्टै ब्युरोको रूपमा स्थापना गर्ने योजना पनि रहेको बताए।–00–

Share:

सम्बन्धित समाचारहरु