काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला राजतन्त्रकालका शासकहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा शासन गर्नेहरूले देशलाई गरिबीमा राखेको बताए। ‘अचम्म त के भने — यो देशलाई आजको दिनसम्म गरिब बनाएर ल्याउनेहरू नै फेरि आउँछौँ, साथ देऊ भन्छन्, लाजै मान्दैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘देश कंगाल बनाउने त यिनै हुन्।’
उनले वर्तमान पुस्ताले ३० वर्षमा देशलाई विकासको दिशामा अघि बढाएको दाबी गरे।
‘अहिले यत्रो विकास भएको छ, तथ्यांकले देखाउँछ। देशलाई अब बस्न योग्य, समुन्नत र पर्यावरणीय हिसाबले शुद्ध बनाउनै पर्छ,’ ओलीले जोड दिए। प्रधानमन्त्री ओलीले देशलाई स्वच्छ, पवित्र र सुखयुक्त बनाउने जिम्मेवारी वर्तमान पुस्ताको भएको उल्लेख गर्दै भने, ‘यो देश त देवभूमि हो, यत्रो अक्सिजन भएको ठाउँ हो। यस्तो पवित्र स्थानमा फोक्सोको व्यापारी कहाँबाट आयो ?’
उनले देश विकास गर्न आवश्यक वातावरण र सम्भावना रहेको भन्दै जनताले पनि सचेत भूमिका खेल्नुपर्नेमा जोड दिए।

