काठमाडौं, २७ वैशाख। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नै कुकर्मका कारण ढल्ने दाबी गरेका छन्।
पार्टीको पाँचथर जिल्ला कमिटीद्वारा फिदिम बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार आफैं ढल्ने अवस्थामा पुगेको बताए। ‘यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ, ढल्छ। हामीलाई सरकार ढाल्ने हतारो छैन। अहिले हामी जनतासँगै छौं,’ प्रचण्डको भनाइ थियो।
उनले आगामी निर्वाचनमा माओवादी केन्द्र अरूको सहारामा होइन, आफ्नै बलबुतामा प्रतिस्पर्धा गर्ने दोहोर्याए।
‘अब यी बुर्जुवाहरूको वैशाखी टेकेर चुनावमा गइने छैन। हामी आफ्नै तागतमा फेरि ०६४ सालजस्तै चुनावमा जानेछौं,’ प्रचण्डले बताए। पार्टी र आफ्नाविरुद्ध विभिन्न भ्रम फैलाउने प्रयास भइरहेको भन्दै उनले कार्यकर्तालाई सतर्क रहन आग्रह गरे।
‘कतिपय बेला विभिन्न भ्रम छर्न खोजिन्छ, त्यो भ्रममा नपर्नुहोला,’ उनले कार्यकर्तालाई सचेत गराउँदै भने।
त्यसैगरी, दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारको तुलना उनले भिजेको बिरालो सँग गरे।
‘दुई तिहाइ सरकारको भिजेको बिरालोको हालत हामीले देखिरहेका छौं। राम्रो काम एक जना पनि गर्न सकेको छैन, नराम्रो काम मात्रै भइरहेको छ,’ प्रचण्डको टिप्पणी थियो।


