काठमाडौं, २५ बैशाख । बुधबार राति भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेकोमा परी ३१ पाकिस्तानी नागरिकको मृत्यु भएको छ। पाकिस्तानको सेनाले यस घटनामा ४६ जना घाइते भएको जानकारी दिएको छ।
भारतले पाकिस्तानका नौ स्थानहरूलाई लक्ष्य गरेर राति १:०५ बजेदेखि १:३० बजेसम्म मिसाइल आक्रमण गरेको थियो। पाकिस्तानका सेनाका प्रवक्ताले रोयटर्सलाई दिएको जानकारी अनुसार, पाकिस्तानले उक्त आक्रमणको प्रतिकार गर्दै जम्मू–कश्मीरको सिमा क्षेत्र लाइन अफ कन्ट्रोलमा बमबारी गर्दा १० भारतीय नागरिकको मृत्यु भएको छ।
भारतले यो हवाई आक्रमण पहलगाममा भएको आतंकवादी हमलाको जवाफस्वरूप गरेको बताएको छ। भारतले आक्रमणलाई ‘अपरेसन सिन्दुर’ नाम दिइएको थियो र आतंकवादी समूहका नौ अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। पाकिस्तानले आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भारतलाई ठूलो गल्ती गरेको बताएका छन् र अब भारतले यसको मूल्य चुकाउने बताएका छन्।
भारत र पाकिस्तानबीचको यो संघर्षले क्षेत्रीय तनावलाई अझ बढाएको छ। फ्रान्सले भारतको पक्षमा उभिएर आतंकवादविरूद्धको लडाइँमा भारतको साथ रहेको जनाएको छ, जबकि अमेरिका, चीन र रूसले संयमता अपनाउन दुवै देशलाई आग्रह गरेका छन्।–0–


