धनगढी, १६ बैशाख । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित ६३ वर्षीय चक्रबहादुर सिंहले तेस्रो तलाबाट हामफाल्दा घटनास्थलमै मृत्यु भएको छ। सिंह अस्पतालमा डायलाइसिस गराइरहेका थिए र सोमबार उनलाई मेडिकल वार्डमा भर्ना गरिएको थियो।
प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार मंगलबार दिउँसो २ बजेतिर सिंह एक्कासी तेस्रो तलाबाट हामफालेका थिए। घाइते अवस्थामा उनलाई आकस्मिक कक्षमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सिंहकी श्रीमती ईश्वरीदेवी अस्पतालमै कुरुवा बसेकी थिइन्। अस्पतालका अनुसार सिंहले ‘एकछिन बाहिर जान्छु’ भन्दै निस्किएपछि उक्त दुर्घटना घटेको हो।
अस्पताल प्रशासनले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।–00–


