चितवन, १६ बैशाख। कालिका नगरक्षेत्रभित्रका विद्यालयहरूले आफ्नो सम्पूर्ण गतिविधिहरू संचालन गर्न राजी भएका छन्। नगर प्रमुख विनोद रेग्मीको कार्यकक्षमा आज बिहान भएको छलफलपछि विद्यालयका सम्पूर्ण गतिविधिहरू संचालन गर्न सहमत भएका हुन्।
कालिका नगरपालिका भित्र रहेका शिक्षक संगठनका घटक संस्थाका प्रतिनिधिहरूसँग विद्यालय संचालन गर्ने विषयमा छलफल भएको थियो। नेपाल शिक्षक महासंघका केन्द्रीय समितिद्वारा आह्वान गरिएको शैक्षिक आन्दोलनका कारण विद्यालयका सम्पूर्ण गतिविधिहरू ठप्प थिए।
शैक्षिक आन्दोलनका कारण उत्पन्न वर्तमान परिस्थितिमा अभिभावक, विद्यार्थीहरूको र शिक्षासँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरूको चाहना अनुसार विद्यालयका सम्पूर्ण गतिविधिहरू संचालन गर्ने सहमति भएको स्थानीय शमीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन्।
योसँगै नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूमा भर्ना देखि अन्य नियमित गतिविधिहरू आजदेखि सुरु भएको छ।


–00–


