मध्यविन्दु, १६ वैशाख । नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तारको कामलाई तीव्रता दिन आगामी वैशाख ३१ गतेसम्म प्रत्येक रात ११:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी आवागमन बन्द गरिने भएको छ।
यसअघि वैशाख १५ गतेसम्म रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो। तर, निर्माणकार्य अझै बाँकी रहेकाले सो निर्णयलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो।
‘दाउन्ने खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी काम वर्षाअगाडि सम्पन्न गर्न आवश्यक भएकाले रातको समयमा सवारीसाधन सञ्चालन रोकिएको हो,’ पाण्डेले भन्नुभयो।
यसअघि चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११:०० देखि ३:०० बजेसम्म र वैशाख १ गतेदेखि रातिको ११:०० देखि बिहान ५:०० बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएर काम भइरहेको थियो।
हाल दाउन्ने क्षेत्रमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको छ। पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार जोखिम बढी रहेको दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम भईरहेको छ।
नारायणगढ–बुटवल सडकखण्डको ११४ किलोमिटरमध्ये गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर क्षेत्रमा सर्भिस लेनसहित विस्तार भइरहेको छ।
यस सडक विस्तार कार्यको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थप गरिसकेको छ। अहिले तेस्रोपटक थपिएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ।–00–


