रास्वपाको महाधिवेशन फागुनमा, तल्लो तहको अधिवेशन समयमै गर्न निर्देशन

काठमाडौं, १५ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तल्लो तहका संरचनाको अधिवेशन गर्न ताकेता गरेको छ। कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले मातहतका संरचनालाई परिपत्र गर्दै निर्धारित समयमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका छन्।

बुर्लाकोटीका अनुसार प्रदेश, जिल्ला, पालिका र वडा तहमा समिति गठन, संगठन निर्माण तथा परिपक्व बनाउँदै अधिवेशन अघि बढाउन निर्देशन दिइएको हो। रास्वपाले वैशाखको अन्तिम साता तय गरिएको महाधिवेशन सारेर अब ७ देखि ९ फागुनसम्म चितवनमा गर्ने तय गरेको छ।

तल्लो तहमा अधिवेशन समयमै सम्पन्न हुन नसकेपछि महाधिवेशनको मिति सारिएको र नयाँ तालिकाअनुसार असोजसम्म वडा, कार्तिकमा पालिका, मंसिरमा जिल्ला र माघमा प्रदेश अधिवेशन सम्पन्न गरिने योजना रहेको छ।

‘आफ्नो जिम्मेवारीमा रहेको तहगत अधिवेशन समयमा नै सम्पन्न गर्न सकिने कार्यतालिका बनाई एक तह माथि बुझाउने व्यवस्था गर्न गराउनु हुन, यो निर्देशन वडा तहसम्म सम्प्रेषण गराउन हुन र २०८२ वैशाख १५ गतेभित्र सबै प्रदेशबाट प्रस्तावित तालिका केन्द्रीय संगठन विभागमा पठाउन गरिन्छ,’ बुर्लाकोटीको पत्रमा उल्लेख छ।

७१ जिल्लामा संगठन विस्तार
रास्वपाले हालसम्म ७१ जिल्लामा पार्टी संगठन विस्तार गरिसकेको छ। मनाङ, मुस्ताङ, डोल्पा र पूर्वी रुकुममा भने जिल्ला सम्पर्क व्यक्तिमार्फत पार्टी प्रतिनिधित्व भइरहेको बुर्लाकोटीले जानकारी दिएका छन्।

पालिका तहमा हालसम्म ४५८ कार्य समिति क्रियाशील छन् भने करिब दुई हजार वडा समिति गठन भइसकेको छ। करिब आठ सय वडामा अधिवेशन सम्पन्न भइसकेको छ।

१८ पालिकामा निर्वाचित कार्यसमिति गठन
रास्वपाले चैत २ गतेदेखि पालिका तहको अधिवेशन सुरु गरेको हो। हालसम्म १८ पालिकामा अधिवेशन सकिँदै निर्वाचित कार्यसमिति चयन भएको छ।

कोशी प्रदेशमा झापा जिल्लाका बुद्धशान्ति, कन्काइ, गौरादह, शिवसतासी, विर्तामोड र दमकमा पालिका अधिवेशन सम्पन्न भएका छन्। मधेश प्रदेशमा भने हालसम्म कुनै पालिकामा अधिवेशन सम्पन्न हुन सकेको छैन।

बाग्मती प्रदेशमा काठमाडौंको कागेश्वरी मनोहरा र तारकेश्वर तथा नुवाकोटको विदुर र म्यागङ पालिकामा अधिवेशन भएको छ। चितवन जिल्लाको माडी पालिकामा पनि अधिवेशन सम्पन्न भएको छ।

गण्डकी प्रदेशमा नवलपुर जिल्लाका गैडाकोट र कावासोतीमा, लुम्बिनी प्रदेशमा रुपन्देहीको कञ्चन गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर जिल्लाका पुनर्वास, कृष्णपुर, बेलडाँडी र बेलौरी पालिकामा अधिवेशन सम्पन्न भएको छ।

Share:

सम्बन्धित समाचारहरु