काठमाडौं, १३ वैशाख । काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनका क्रममा एक जना शिक्षक कुटिएका छन्।
शनिबार दिउँसो १ बजे काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा नेपाल शिक्षक महासंघको राष्ट्रिय आन्दोलनमा सहभागी शिक्षक केशव राज जोशीमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो।
कैलालीको धनगढी उपमहानगरपालिका–१ घर भइ काठमाडौं–३१ आलोकनगर बसोबास गर्दै आएका ५४ वर्षीय जोशी श्री दुर्गा आधारभूत माध्यमिक विद्यालय धनगढीका शिक्षक हुन्। एसपी बोहराका अनुसार आन्दोलनस्थलमा उपस्थित करिब १५–२० जना शिक्षकहरूको समूहसँग मतभेद हुँदा जोशीमाथि कुटपिट भएको हो। कुटपिटबाट उनको टाउकोमा चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा समेत चोट लागेको छ।
प्रहरीले उनलाई उद्धार गरी सिभिल अस्पतालमा पुर्याएको र हाल उपचार भइरहेको जनाएको छ। उपचारमा उनका भतिज संलग्न रहेका छन्।–00–

