काठमाडौं, १२ वैशाख । बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओली संसदमा सम्बोधन नगर्ने भएका छन्।
पहिलो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा दलगत आधारमा प्रमुख नेताहरूले धारणा राख्ने कार्यक्रम तय भए पनि केही नेताहरूको अनुपस्थितिका कारण प्रधानमन्त्रीको सम्बोधन रोकिएको हो।
विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा रहेका छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डमा छन्। देउवा आजै फर्कने कार्यक्रम भए पनि संसदमा उपस्थित नहुने भएकाले प्रधानमन्त्री ओलीले बोल्ने कार्यक्रम स्थगित गरिएको हो।
प्रतिनिधिसभाको आजको बैठकमा दलहरूको धारणा राख्ने क्रममा सत्तापक्ष र प्रतिपक्ष दुवैका प्रमुख नेताहरू अनुपस्थित हुँदा बैठक औपचारिकता मात्रमा सीमित हुने देखिएको छ।–00–


