काठमाण्डौं, ११ बैशाख । कश्मीरमा पर्यटकमाथि भएको सशस्त्र आक्रमणपछिको एक दिनमै भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। बीबीसीका अनुसार भारतले पाकिस्तानसँग जोड्ने मुख्य सीमा नाका बन्द गरेको छ। साथै, दुई देशबीचको ऐतिहासिक जलवितरण सन्धि ‘इन्डस वाटर ट्रिटी’ निलम्बन गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, भारतले पाकिस्तानी कुटनीतिक कर्मचारीहरूलाई निष्कासन गर्ने, केही पाकिस्तानी भिसा भएकाहरूलाई ४८ घण्टाभित्र देश छोड्न निर्देशन दिने लगायतका निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कश्मीर आक्रमण र त्यसपछि
कश्मीरको एक पर्यटकीयस्थलमा बन्दुकधारीहरूले गरेको आक्रमणमा दुई दर्जनभन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो। घटनापछि भारतले पाकिस्तानलाई परोक्ष रूपमा जिम्मेवार ठहर्याउँदै विभिन्न कूटनीतिक तथा प्रशासनिक कदमहरू चालेको हो।
भारतीय सुरक्षा एजेन्सीका अनुसार यो आक्रमण ‘कश्मीर प्रतिरोध’ नामक नवगठित समूहले गरेको दाबी गरिएको छ। भारतले पाकिस्तानमाथि लामो समयदेखि कश्मीर क्षेत्रमा सक्रिय सशस्त्र समूहहरूलाई समर्थन गर्ने आरोप लगाउँदै आएको छ। यद्यपि पाकिस्तानले यस्ता आरोपहरू पूर्णरूपमा अस्वीकार गर्दै आएको छ।
सिन्धु नदी सन्धिको निलम्बन
भारतले सन् १९६० देखि लागू हुँदै आएको इन्डस वाटर ट्रिटीलाई पनि निलम्बन गर्ने घोषणा गरेको छ। उक्त सन्धिअनुसार सिन्धु नदी प्रणालीका पूर्वी नदीहरूको उपयोग भारतले गर्ने र पश्चिमी नदीहरूको प्रवाह पाकिस्तानतर्फ कायम राख्नुपर्ने प्रावधान थियो।
पाकिस्तानको प्रतिक्रिया
पाकिस्तानी अधिकारीहरूले आक्रमणमा देशको संलग्नता नकार्दै भारतको पछिल्लो निर्णयको विरोधमा छिट्टै प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएका छन्। पाकिस्तानी विदेशमन्त्रीले बिहीबारभित्रै जवाफ दिने बताएका छन्।–00–

