सावधानी अपनाउन सुझाव

देशभर गर्मी बढ्दो, लुम्बिनी र मधेस प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाण्डौं, ११ बैशाख । हाल मुलुकमा स्थानीय वायु प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोही प्रभावका कारण उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भू–भागमा तापक्रम निरन्तर बढ्दै गएको छ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम आज ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। पछिल्ला केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर वृद्धि भइरहेको छ।

तराईमा अत्यधिक गर्मी र तातो लहरको चेतावनी

मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आज दिउँसो र राति दुवै समयमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने पूर्वानुमान गरिएको छ।

पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हल्का वर्षा र हिमपात

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।

सावधानी अपनाउन सुझाव

जल तथा मौसम विभागले गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेष गरी तराई क्षेत्रका बालबालिका, वृद्धवृद्धा तथा बिरामी व्यक्तिहरूलाई अत्यधिक गर्मीमा बाहिर जान नगर्न तथा पर्याप्त पानी सेवन गर्न सुझाव दिइएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु