भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमणमा

काठमाडौं, ९ वैशाख  । भारतका विद्युत् तथा आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा मन्त्री खट्टर केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ऊर्जा मन्त्रालयका अधिकारीहरू र काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिहरूले स्वागत गरेका छन्।

यसअघि ३० माघ २०८१ मा भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

भ्रमणको पहिलो दिन खट्टर र मन्त्री खड्का संयुक्त रूपमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा संखुवासभाको तुम्लिङटारमा रहेको २२०/१३३/३३ केभी सबस्टेसन, बानेश्वरको २२०/३३ केभी सबस्टेसन र बसन्तपुरको २२०/१३३/३३ केभी सबस्टेसनको उद्घाटन गर्नेछन्।

त्यसपछि खट्टरले भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। साथै, दुई देशबीच संयुक्त रूपमा निर्माण गर्न लागिएको प्रसारण लाइन निर्माण कम्पनीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि गरिनेछ।

भ्रमणको दोस्रो दिन अर्थात् १० वैशाखमा मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने छन्। त्यस दिनै उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

मन्त्री खट्टरले सोही दिन साँझ पशुपतिनाथको दर्शन गरेपछि स्वदेश फर्कने कार्यक्रम छ।

Share:

सम्बन्धित समाचारहरु