सिंहदरबारमा प्लेकार्डसहितको प्रदर्शनपछि राप्रपा अध्यक्ष लिङ्देन र सांसद शाही पक्राउ

काठमाडौं,  ८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाही सिंहदरबारमा प्लेकार्डसहितको प्रदर्शन गरेपछि पक्राउ परेका छन्।

सिंहदरबारभित्रै राप्रपा सांसदहरूले निषेधित क्षेत्रमा नाराबाजी गर्दै अघि बढेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। त्यसअघि उनीहरू राप्रपा संसदीय दलको कार्यालयमा जम्मा भएका थिए। लिङ्देनको नेतृत्वमा राप्रपाका सात जना सांसदहरूले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयअगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्लेकार्ड खोसेर प्रहरीले च्यातिदिएको र निषेधाज्ञाको अवज्ञा गरेको भन्दै नियन्त्रणमा लिएको जनाइएको छ।

यसअघि सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत आफूहरूलाई संसद् भवनभित्रै प्रहरीले ‘बन्दी’ बनाएको आरोप लगाएका थिए। तर केहीबेरमै राप्रपा सांसदहरू संसद् परिसरभित्रै प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शनपश्चात मिडियासँग संक्षिप्त कुरा गर्दै उनीहरू सिंहदरबारको दक्षिण गेटबाट बाहिरिए। त्यहीं नाराबाजी गरेपछि प्रहरीद्वारा पुनः पक्राउ गरिएको हो। उनीहरूले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’ जस्ता नाराहरू लगाएका थिए।

गिरफ्तारीको क्रममा सांसद शाहीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई “भ्रष्ट” भन्दै तीव्र आलोचना गरे। उनले वर्तमान सरकारका दिनगन्ती सुरु भएको दाबी पनि गरे।–00–

Share:

सम्बन्धित समाचारहरु