काठमाडौं ,३ बैशाख । मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।
प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार प्राप्त जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। “जाहेरवाला पक्षको दाबी पुष्टि हुने वा नहुने भन्ने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ,” एसपी बोहोराले बताए। जाहेरीमा उल्लेख भए अनुसार डा. अहिराजमाथि मधेशमूलकी एक नाबालिग बालिकालाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिएको आरोप छ।
पीडितले प्रारम्भमा राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी थिइन्। पछि केही महिला अधिकारकर्मीहरूको साथमा उनी जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन्। प्रहरीका अनुसार अनुसन्धान प्रक्रिया प्रारम्भिक चरणमा रहेकाले थप विवरणहरू सार्वजनिक गरिने छैन्। अनुसन्धान निष्पक्ष रूपमा अघि बढाइने प्रहरीले जनाएको छ।–00—


