नवलपुर, ३ वैशाख । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१२ मा पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालकमध्ये एक जनाको शव फेला परेको छ भने अर्का बालकको खोजी कार्य जारी छ।
प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार १३ वर्षीय प्रज्वल पौडेलको शव घटनास्थलभन्दा करिब २ किलोमिटर तल नारायणी नदीको किनारमा बुधबार बिहान फेला परेको हो। अर्का १५ वर्षीय विजय पौडेलको खोजीमा गोताखोर टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीहरू परिचालित छन्।
मंगलबार दिउँसो नारायणी नदी र आरुङखोलाको संगमस्थल उल्टी दोभानमा पाँच जना बालक पौडी खेल्न गएका थिए। उनीहरूमध्ये प्रज्वल र विजय पौडेल नदीमा डुबेका थिए। बाँकी तीन बालक सकुशल घर फर्किएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष कान्ताप्रसाद कुमालका अनुसार बेपत्ता भएका दुई बालक एउटै परिवारका दाजुभाइका छोरा हुन्। विजय पौडेलले हालै मात्र एसईई परीक्षा दिएका थिए भने दुवै बालक बिदाको समय सदुपयोग गर्दै साथीहरूका साथ ड्राइ पिकनिकका लागि नदी किनार पुगेका थिए।
“हिजो राति अबेरसम्म खोजी गर्दा पनि उनीहरू फेला परेनन्,” डिएसपी नेपालले भने, “आज बिहान खोजी गर्दा एक जनाको शव फेला परेको हो। अर्का बालकको खोजी कार्य जारी छ, गोताखोरको टोलीसँग समन्वय गरेर खोजी तीव्र पारिएको छ।”–00–
तस्विरः फाइल


