चितवनमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना : एकको मृत्यु, तीन घाइते

सेतोनेपाल, संवाददाता
चितवन, १ बैशाख । चितवन जिल्लामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

ज्यान गुमाउनेमा पर्साको सकुहवा प्रसौनी गाउँपालिका–२ का अन्दाजी २५ वर्षीय लालबाबु पासवान रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–४ स्थित सापकोटा चोक नजिक बागमती प्रदेश ०६–००१ च ०३४९ नम्बरको कारले पासवानलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। कार र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, रत्ननगर नगरपालिका–६ दाराहात्ती चोकमा जङ्गल सफारीका लागि प्रयोग गरिएको ना ४ च ३३५५ नम्बरको जीप आफैं अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार घाइतेमध्ये तीनै जनाको अवस्था खतरामुक्त रहेको छ भने जीपमा सवार अन्य सात जना यात्रु सकुशल रहेका छन्।


दुर्घटनापछि जीप चालकलाई समेत नियन्त्रणमा लिइएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु