राष्ट्रपतिको सन्देशः नयाँ वर्ष देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र संकल्प गर्ने दिन हो

काठमाडौं, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन भएको बताएका छन्। नव वर्ष २०८२ को शुभकामना दिँदै उनले आजको दिन जनताको यही चाहना पूरा गर्ने संकल्प गर्न लाग्नुपर्ने बताएका हुन् ।

‘विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् हो । हाम्रो इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवत्‌ले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउँछ र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्दछ ।’ शुभकामना सन्देशमार्फत उनले भनेका छन, ‘हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिन्छौं । विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न जीवनभर संकल्पवद्ध रहने हाम्रो परम्परा छ । यस अर्थमा, नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन हो ।’

केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू विस्तारै निस्तेज हुँदै जाने उनको दाबी छ। ‘संघीय गणतन्त्र र समावेशी लोकतन्त्रको माध्यमले सबैमा समान रुपले स्वतन्त्रताको उज्यालो एवम् फराकिलो लोकमार्गमा हाम्रो मुलुक अघि बढ्दैछ । आफ्नो भाग्य र भविष्य आफैंले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेका छन् । एउटा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाई र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जानेछन् ।’ उनले भनेका छन, ‘समृद्धिको बाटोमा बाधक बनेर देखिने गरेको बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त हो । आजको दिन हामी जनताको यही चाहना पूरा गर्ने संकल्प गरौं । आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु ।’–00–

Share:

सम्बन्धित समाचारहरु