काठमाडौं, २२ चैत्र । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतले दिएको आदेश खारेजीको माग गर्दै रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीले उच्च अदालतमा दर्ता गरेको रिटमा सुनुवाइ सकिएको छ ।
जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।
उक्त रिटमा शुक्रबार बहस सकिएको अदालतकी वैतानिक वकिल कपिला शर्माले जानकारी दिइन् । ‘केहीबेरअघि बयान सकिएको छ । आदेशबारे प्रशासनमा काम हुँदैछ,’ उनले भनिन् ।
अदालतका सूचना अधिकारी राम बहादुर कुँवरले बहस सकिएसँगै आदेश जारी हुने जानकारी गराए । ‘बहस सकिएको छ, अब आदेश जारी हुन्छ,’ उनले भने । यसअघि बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । सोही मुद्दामा जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।–00–


