चितवन ९, फागुन
नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर–१ रामनगरमा गएराति ट्रकले ईभी माइक्रोमा सवार चार जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
गएराति करिब १ः४५ बजेको समयमा रामनगरस्थित पुजा होटलबाट खाना खाएर मुख्य सडकमा निस्किँदै गर्दा नम्बरप्लेट नभएको ‘वान टेस्ट’ माइक्रोलाई मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ७३७५ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ट्रकको ठक्करबाट माइक्रो चालकसहित चार जना घाइते भएका हुन् । घाइते हुनेहरुमा माइक्रो चालक रुपन्देही तिलोत्तमा नगरपालिका–१५ बस्ने ४५ वर्षीय होमबहादुर केसी, बुटवल उपमहानगरपालिका–११ बस्ने ४३ वर्षीय दिलबहादुर मगर, तिलोत्तमा–१६ बस्ने ३७ वर्षीय विजयबहादुर चौधरी र रुपन्देही बस्ने २६ वर्षीय दिपक चौधरी (गम्भीर) रहेका छन् ।
ट्रक र ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । माइक्रोले ख्याल नगरी सडकमा निस्किँदै दुर्घटना भएको हो । नम्बर प्लेट नराखी यात्रु चढाएर माइक्रोले ट्राफिक नियम उल्लघंन गरेको पाइएको छ ।


