के हो खिचरा पर्व ?

चितवनका थारु समुदाय खिचरा पर्वको तयारीमा जुटे, भोली मछवारी, पर्सी खिचरा पर्व

चितवन, २८ पौष । चितवनका आदिवासी समुदाय थारुले खिचरा पर्वको तयारीमा जुटेका छन् । माघ १ गते थारु समुदायको नयाँ वर्ष । नयाँ वर्षकै अवसरमा चितवनका थारु समुदायले खिचरा पर्व धुमधामकासाथ मनाउँदै आएका छन् ।

भोली पौष मसान्त । पौष मसान्तको दिनलाई थारुहरुले मछवारीक दिनको रुपमा लिने गर्दछन् । भोली नजिकैको खोला, तालतलैयामा माछामार्न जाने परम्परागत प्रलन छ । पछिल्लो समय निकुञ्ज स्थापनायता संरक्षणको नाउँमा नदीखोलाहरुमा माछामार्न प्रवेशगर्न नदिएपछि मछवारीगर्ने प्रचलन हराउँदै गएको छ । यद्यमी माछाको प्रयोगभने खिचरामा अनिवार्य जस्तै छ ।

यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी भाञ्जालाई दान दक्षिणा दिइ विशेष परिकारका रूपमा थारु समुदायले माछासँग चिचरको पोका खाने गर्छन् । यो दिन दिनमा खोला नदी र तीर्थस्थलमा गएर स्नान गर्ने प्रचलन रहिआएको छ ।

परापूर्वककालमा अरुको घरमा काम गर्न बस्ने चलन भएको समयमा खिचराको दिनदेखि साहुमहार्जनको सेवाबाट छुटकारा पाउने भएकाले यस दिनलाई स्वतन्त्र उत्सवको दिनका रुपमा मनाउने प्रचलन रहेको छ । पछिल्लो समय खिचरालाई माघीसमेत भन्न थालिएको छ ।

पुसमा पकाएको माछालगायतका खानेकुरा माघमा (खिचराको दिन) खाने प्रचलन रहेको छ । थारु संस्कार संस्कृति तेस्रो पुस्तालाई हस्तान्तरण गरिसकेको भन्दै संस्कृति जोगाउन नसके पहिचान नरहने थारु कल्याणकारिणी सभा चितवनको जिल्ला सभापति ललितकुमार चौधरीको भनाई छ ।


माघ १ गतेको दिनलाई पश्चिम क्षेत्रमा माघ अथवा माघी, नवलपरासी क्षेत्रमा खिचरी, चितवनमा खिचरा र पूर्वी नेपालमा तिलासङ्क्रान्तिका रुपमा मनाउने प्रचलन रहेको थारु पत्रकार सङ्घका केन्द्रीय कोषाध्यक्ष कारी महतोले बताए । उनका अनुसार यो दिनदेखि थारुको नयाँ संवत समेत सुरु हुन्छ । चितवनमा करिब १ लाखको हाराहारीमा थारु समुदायको बसोबास छ । पहाडी भूभाग रहेको इच्छाकामना गाउँपालिकाबाहेकका सबै पालिकामा थारु समुदायको बसोबास छ ।

थारु कल्यणकारिणी सभा चितवनका सचिव शन्तकुमार चौधरीले आधुनिकताका नाममा मौलिक संस्कृति लोप हुने खतरा बढेको बताए । “यस पर्वको महत्वबारे युवापुस्तामा जानकारी कम हुँदै गएको छ”, उनले भन्ने, “पहिले चिचर सबैको घरमा पाक्थ्यो अहिले पकाउन छाडेका छन् ।” उनले खिचरा पर्वसँगै थारु संस्कार संस्कृति र खानाको प्रर्वद्धनगर्दै जानुपर्ने बताए ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खिचराका अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि भोलीदेखि ( पौष २९) खिचरा महोत्सव आयोजना हुँदैछ । खैरहनी नगरपालिका–५ को गौचरनमा आयोजना गरिएको महोत्सवमा थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रर्वद्धन गरिएको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बासुदेव चौधरी बताए ।

महोत्सवमा थारु संस्कार संस्कृतिका साथै जिल्लाको कृषि र आर्थिक क्षेत्रलाई पनि टेवा दिन महोत्सव परिसरमा उद्योग, व्यपार, कृषि र पर्यटनसँग सम्बन्धित स्टल राखिएको मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए।

महोत्सवमा थारु समुदायका परिकार घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टल महोत्सवमा छन् । थारु समुदायका मौलिक गीत र नाच महोत्सवमा प्रस्तुत गरिनेछ । पछिल्लो समय हराउँदै जान लागेका ठेकरा, झमटा, झुमरा, रसधारी, झररा, लाठी नाचजस्ता सांस्कृतिक नृत्य महोत्सव अवधिभर प्रस्तुत हुने संयोजक रामेश्वर चौधरीले बताए ।

महोत्सव स्थलमा थारु समुदायको ब्रह्म थानदेखि हस्तकलाका सामग्री र घोगी र चिच्चर पोकाको मूर्ति प्रदर्शनीका लागि राखिएको छ । विसं २०७० देखि आयोजना गरिएको महोत्सवको अहिले दशौं संस्करण आयोजनाहुँदैछ ।–00–

Share:

सम्बन्धित समाचारहरु