काठमाडौं , १६ कात्तिक । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोली ओमानसँग पाँच रनले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा अलआउट हुनुअघि एक सय ४० रनमात्र बनाउन सक्यो । नेपालका ब्याट्सम्यानले ओमानविरुद्ध गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालका लागि बिवेक यादबले सर्वाधिक ३९ रन बनाए । उनले २४ बलको सामना गरी पाँच छक्का हिर्काए ।
ओपनर कुशल भुर्तेलले २६ रन बनाए । अर्का ओपनर आसिफ शेख पाँच रनमै आउट भए । तेस्रो नम्बरका ब्याट्सम्यान सोमपाल कामी पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । कुशल मल्ल १० रनमै पेभेलियन फर्किए । कप्तान रोहित पौडेल पनि १२ रनमै आउट भए ।
छैठौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोरा १२ रन बनाउँदै आउट भए । गुल्सन झा तीन रनभन्दा अगाडि बढ्न सकेनन् । सन्दीप लामिछाने दुई रनमै स्टम्पिङ आउट भए । करण केसीले ११ बलमा एक छक्का र एक चौकाको मद्दतले १५ रन बनाए । ओमानका बलर बिलाल खानले तीन विकेट लिए । सकिल अहमद, महेरान खान र अकिब इलियासले पनि दुई—दुई विकेट हात पारे ।
समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । बिहीबारको खेलले समूह वितेको टुंगो लगाएको हो । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।
नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । सिंगापुर र मलेसिया भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ । यी दुबै टोलीले अघिल्ला दुई खेलमै पराजय भोगेका थिए । सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० को सामना गर्नेछ । यूएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । यूएईले बिहीबार समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङलाई २२ रनले पराजित गरेको हो ।
सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वीको टुंगो लाग्न बाँकी छ । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ । अर्को सेमिफाइनल खेल समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेताबिच हुनेछ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् । टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
नेपालले यसअघि एक पटक टी—२० विश्वकप खेलेको छ । जारी छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले भने आफ्नो पहिलो खेलमा मलेसियालाई ३२ रनले र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो ।
नेपालले पहिलो विकेटको रुपमा विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी आठ बलमा एक चौकाको मद्दतले पाँच रन बनाउँदै आउट भएका थिए । ओमानका बलर बिलाल खानले आसिफलाई आफ्नो बलमा आफैले क्याच गरेका थिए । —00–