काठमाण्डौ ३, पौष ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रिँदा जनकपुर बोल्ट्स लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।
यी दुई टिमबीच लिग चरणमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले जनकपुरविरुद्ध ७२ रनको सहज जित निकालेको थियो ।
लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोेडेको थियो । समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो । आजको खेलमा जित निकाल्ने टिमले सोझै फाइनल यात्रा तय गर्नेछ । यता, पराजित हुने टिमले भने इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
प्लेअफअघि जनकपुरले भने नियमित कप्तान अनिल साहको साथ नपाउने सम्भावना उच्च छ । अनिल लिग चरणमा आफ्नो अन्तिम खेलमा चितवन राइनोजविरुद्ध मैदान उत्रिँदा घाइते भएका थिए । उनको हातमा चोट लागेको छ । यसैकारण उनले प्रतियोगिता नै गुमाउने सम्भावना उच्च रहेको एक स्रोतले बताए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।


