कैलालीमा ६ घण्टादेखि भारी वर्षा, सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागको अनुरोध

काठमाडौं, ५ भदौं । कैलालीमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । जिल्लाको अधिकांश स्थानमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भएको छ ।

मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो ६ घण्टामा धनगढीमा ९०.२ मिलिमिटर वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “धनगढीमा अहिले पनि वर्षा भइरहेको छ,” उनले भने, “विस्तारै कञ्चनपुरमा पनि वर्षा हुने देखिएको छ ।”

मधेस प्रदेश तथा वाग्मतीका विभिन्न स्थानमा वर्षा भइरहेको उनको भनाइ छ । “आज दिउँसो थप वर्षा हुने देखिएको छ,” उनले भने । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ । न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्दा मनसुन थप सक्रिय भएर भारी वर्षा हुन्छ ।–00–

Share:

सम्बन्धित समाचारहरु