हेटौंडा, २५ वैशाख । हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिन भासिएर हराएको गाडी अझै फेला परेको छैन।
गत शुक्रबार भएको घटनामा ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो गाडी अचानक भासिएको थियो। घटनास्थलको अध्ययनका लागि मंगलबार खानी तथा भूगर्भ विभागको टोली हेटौंडा आएको थियो, र प्रारम्भिक अनुसन्धान पश्चात् बुधबार टोली काठमाडौं फर्किएको छ।
भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल र चुम्बकीय क्षेत्रको परीक्षण गरेको छ। विभागका भूगर्भविद् कृष्ण पाण्डेका अनुसार उक्त क्षेत्रको जमिन तरलिकृत भएको पाइएको छ। “माटोको माथिल्लो तह केही मिटर चिम्ट्याइलो रहेको र तल्लो तहमा बालुवा र पानी मिश्रित रहेको पाइएको छ,” उनले भने। टोलीले ६ मिटर गहिराइसम्मको माटोको नमुना संकलन गरेको छ। संकलन गरिएका नमुनाको ल्याबमा परीक्षण पश्चात् भूगर्भीय रिपोर्ट तयार पारिने विभागले जनाएको छ।
पाण्डेले थपे, “चुम्बकीय विधि प्रयोग गर्दा जमिनमुनि करिब ३ दशमलव ४ मिटर तल केही फलामजन्य धातु रहेको जानकारी प्राप्त भएको छ। तर यो गाडी नै हो वा अरु कुनै उपकरण हो भन्ने यकिन गर्न सकिएको छैन।”
अर्को विधिबाट पनि गाडीको अवस्थिति यकिन गर्न सकिएको छैन। पाण्डेले भने, “यो क्षेत्रमा माटो तरलीकृत छ र माछा पोखरीहरूको कारण ‘सिंक होल’ को जोखिम बढी देखिएको छ। हामीले विभिन्न स्थानको माटोको नमुना संकलन गरेका छौं र ल्याबमा परीक्षण पछि दोश्रो चरणको अध्ययनका लागि पुनः फर्किनेछौं।”
गैरीगाउँ स्थित उक्त कच्ची सडकखण्डमा बोरिङको लागि खनेको पानीको खाल्डो नजिकै माछा बोक्ने गाडी भासिएको थियो। गाडीका चालक हरि राई भागेर ज्यान जोगाउन सफल भए। घटनाको कारण खाल्डोको दायाँ-बायाँबाट माटो झरिरहने र खाल्डोको आयतन बढ्दै गएकोले जोखिम थपिएको छ।–00–


