सर्लाहीमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु

सर्लाही, ६ असार ।

सर्लाहीको वाग्मती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते छन् ।

पूर्वपश्चिम राजमार्गस्थित वाग्मती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीवाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमुना अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन् । जनकपुर, वीरगन्ज र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । रासस

Share:

सम्बन्धित समाचारहरु