आशिष अधिकारी-
भरतपुर ९, बैशाख । भरतपुर महानगरपालिकाले कानुनी सचेतना तालिम दिन शुरु गरेको छ।
आफ्ना प्रत्येक वडाका नागरिकहरुलाइ वडा सदस्यहरु मार्फत न्यायको पहुँच,न्याय सम्पादन र न्यायीक अधिकारका सवालमा सबल र सक्षम बनाउने उदेश्यले महानगरपालिकाले २९ वटै वडाका वडा सदस्यहरुलाइ दुइ दिवसिय कानुनी सचेतना तालिम दिन शुरु गरेको हो। तालिमलाइ दुई चरणमा बिभाजन गरि दिन शुरु गरिएको छ । वडा नम्बर १ देखि १५ सम्मका वडा सदस्यहरुलाइ आज पहिलो दिन आइतबार र १६ देखि २९ सम्मका वडा सदस्यहरुलाइ भोलि सोमबार तालिम दिइने कानुनी मामिला शाखाका प्रमुख सुरजराज पौडेलले जानकारी दिनुभयो । तालिम उद्वघाटन गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले न्यायमा पहुँच महङ्गो छैन भन्ने मान्यता स्थापित गरेको धारणा राख्नुभयो ।
न्याय मरेको छैन र मर्न दिइने पनि छैन भन्नका लागि यस्ता खालका तालिम अर्थपूर्ण हुनेछन् । महानगरको न्यायिक समिति संयोजक समेत रहेका अधिकारीले स्थानीय सरकारको क्षेत्राधिकारभित्रका विवादलाई मेलमिलापका माध्यमबाट व्यवस्थापन गर्न सकिने तथ्य पनि स्थापित भएको धारणा राख्नुभयो । ‘स्थानीय सरकारलाई दिएका न्यायिक निरुपणका अधिकार हामीले वडा तहमा लगेका छौँ । वडा तहमा रहेको मेलमिलाप केन्द्रले यी अधिकारहरुको प्रयोग गरिरहेका छन् उहाँले भन्नुभयो । स्थानीय विवाद निरुपणका लागि न्यायिक समितिसँगै मेलमिलापकर्ताको संयुक्त प्रयास हुनु आबश्यक छ उप प्रमुख अधिकारीको भनाइ छ ।
‘ठाउँ, भूगोल, सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार विवादका प्रकृति फरक हुन सक्छन् । विवादका प्रकृति फरक भए पनि मेलमिलाप गराउने पद्धति साझा हुन सक्छ । विवादलाई सिर्जना भएकै विन्दुमा निरुपण गर्न वडास्तरीय संयन्त्रभन्दा अर्को प्रभावकारी संयन्त्र नभएको उल्लेख गर्दै हाम्रो महानगरपालिका वडामै विवाद समाधान गर्ने सम्भवत पहिलो पालिका हो । यसकारण केन्द्रमा र जिल्ला अदालतमा कम मुद्दा पुग्ने गरेका छन् । न्यायिक विकेन्द्रीकरणको यो नमूना योग्य कदम हो । ‘प्राकृतिक न्यायको सिद्धान्त’, ‘विवाद समाधानमा स्वच्छ सुनुवाईको सिद्धान्त’, ‘न्याय ढिला हुनु हुँदैन र हतारमा अङ्ग नपुगी पनि गर्नु हुँदैन’ र ‘ढिलो न्याय दिनु न्याय नदिनु सरह हो उहाँको तर्क रहेको थियोे । तालीममा आज भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधाका सम्बन्धमा प्रशिक्षण दिनुहुनेछ ।
त्यस्तै शाखा अधिकृत राजन सापकोटाले वडा सदस्यहरुको काम,कर्तव्य र अधिकारका सम्बन्धमा प्रशिक्षण दिनुहुनेछ । अर्का प्रशिक्षण मेलमिलाप बिज्ञ बन्धुराज पौडेलले स्थानीय जनप्रतिनिधिहरुको न्याय सम्पादन सम्बन्धी ब्यबस्था,महानगरका कानुनी सल्लाहकार गोपिलाल देवकोटाले कानुनको परिचय,समसामयिक कानुनहरुको बारेमा जानकारी र जनप्रतिनिधिहरुको आचारसंहिताका सम्बन्धमा प्रशिक्षण दिनुहुनेछ । उद्वघाटन कार्यक्रममा कार्यपालिका सदस्य गोपाल दराइ,बिष्णु बहादुर भुजेल,सामान्य प्रशासन शाखा प्रमुख उपेन्द्रराज पौड्याल लगाएतको सहभागिता रहेको थियोे ।