विक्रमबाबाको पुजा स्थलमा दशजना भन्दाबढी थारु गुरौं राख्ने थारु कल्याणकारिणी सभाको तयारी

चितवन, २२ चैत । चितवन राष्ट्रिय निकुञ्जभित्र विक्रमबाबाको पुजा व्यवस्थापनमा थारु कल्याणकारिणी सभा चितवनले चासो देखाएको छ । २६ गते धुपौर गरेर चैत्र २७ गतेदेखि विधिवत रुपमा पुजा सुरुगर्ने थारु कल्याणकारिणी सभा चितवनको आज बसेको बैठकले निर्णय गरेको छ । मेला २६ गतेदेखि सुरु भएपनि बलिदिने काम चैत्र २७ गतेवाट मात्रै हुने थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो । २६ गते औँसीपर्ने भएकाले औँसीको दिन विक्रम बाबामा बलिदिने प्रचलन नभएको उहाँले प्रष्टपार्नुभयो ।

 

विक्रमबाबा थारु समुदायले पुज्दै आएको इतिहास छ । थारुहरु प्रकृति पुजक हुन । विक्रम बाबाको पुजालाई व्यस्थित बनाउन यो वर्ष थारु कल्याणकारिणी सभाले १० जना भन्दाबढी गुरौंको व्यस्थापनगर्ने तयारी गर्दै छ । पश्चिम चितवनको धनौजीमा आज बसेको बैठकले प्रत्येक क्षेत्रवाट एकएकजना गुरौं विक्रमबाबाको पुजाका लागि परिचालनगर्ने निर्णय गरेको छ । अघिल्ला वर्षहरुमा थारुहरुको पुजारी( गुरौं ) कम भएका कारण दर्शनार्थीहरुले सास्ती भोग्नुपरेको थियो ।

 

पुजास्थलमा चैत्र २६ गतेदेखिनै थारु गुरौंहरु परिचालनहुनेछन् । बलिभने चैत्र २७ गतेवाट मात्रै दिइने तयारी छ । यो पटक भरतपुर महानगरपालिकाको वडा नं. २३ ले विक्रम बाबा मेला आयोजनागर्दैछ । थारु कल्याणकारिणी सभा चितवनभने मेलाको प्रर्वद्धकको रुपमा रहनेछ । यस्तै चितवनका दशवटै क्षेत्रीय समिति सहयोगी संस्थाको रुपमा रहने थाकस चितवनका जिल्ला सभापति चौधरीले जानकारी दिनुभयो । भरतपुर भ्रमणवर्षलाई लक्षित गरेर वडा नं. २३ ले मेलाको औपचारिक समद्घाटन कार्यक्रम आयोजनागर्दै छ । थारु गुरौंहरुले पुजा गरेपछि मात्रै मेलाको औपचारिक सुरुवातहुनेगरी तयारी गरिएको भरतपुर महानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो । बैठकमा वडा नं. २२ र २३ का वडा अध्यक्षहरु समेत सहभागि भएका थिए ।

 

वडा नं. २३ का वडा अध्यक्ष दवाडीले जगतपुरको ब्राण्डको रुपमा विक्रमबाबा मेला रहेका कारण यसलाई अन्तराष्ट्रिय स्तर सम्म लैजान थारु समुदायको साथ आवश्यक रहेको बताउनुभयो । थाकस जिल्ला सभापति ललितकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकमा थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विष्णु कुमारी चौधरी, केन्द्रीय सदस्य राजेन्द्रप्रसाद चौधरी लगायत क्षेत्रीय सभापतिहरुको सहभागिता थियो ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने विक्रमबाबा मेला यसवर्ष चैत २६ गते सुरू भएर वैशाख ११ गतेसम्म सञ्चालन हुँदैछ ।

चैतेदसैँलाई लक्षित गरी हरेक वर्ष चैत्र औँसीदेखि पूर्णिमासम्म मेला लाग्ने गर्दछ । मेलामा विक्रमबाबाको पूजा एवं भाकलसमेत गर्ने प्रचलन छ । बाबाको थानमा भाकल गरे सन्तान प्राप्ति लगायत मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । विशेषगरी, थारु समुदायले मनाउँदै आउने यो मेलामा पछिल्ला वर्षहरुमा अन्य समुदायको पनि आस्था बढ्दै गएको छ । केरूङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलका अनुसार विभिन्न क्षेत्रबाट आस्था, भरोसा, सन्तान प्राप्ति, सुखलगायतका मनोकाङ्क्षा पूरा हुने विश्वासले दर्शन गर्न भक्तजन आउने गर्छन् ।

२६ गतेदेखि सुरू हुने मेलाका लागि बाटोमा पानी छर्किने, सरसफाइ तथा पार्किङको व्यवस्थापन, स्टल वनाउने तथा भत्केका ठाउँहरुमा निर्माणको काम भैरहेको उहाँले जानकारी दिनुभयो । वन तथा वन्यजन्तुको सुरक्षा, आगजनी, सरसफाइ, भीड व्यवस्थापन, चोरी तथा लुटपाट, आकस्मिक स्वास्थ्यसेवा, शौचालय, खानेपानीको विषयलाई मध्यनजर गरी सिसी क्यामरा जडान गरिने भएको छ । पटिहानी उपभोक्ता समिति र केरूङ्गा उपभोक्ता समिति जगतपुरले पूजा व्यवस्थापन गर्न विभिन्न उपसमिति गठन गरेका छन् भने निकुञ्जवारि गरिने मेलाको आयोजना घैलाघारी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले गर्नेछ ।

बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म लाग्ने यस मेलामा बोका र परेवाको बलि दिने प्रचलन छ । विक्रमबाबामा बलि चढाए पनि विक्रमबाबाआसपासमा भने खानपान, भोजभतेर गर्न पाइँदैन । त्यसको लागि घैलाघारीतर्फको खाली चौरमा व्यवस्थापन गरिएको छ । विक्रमबाबाको पुजा स्थलमा बोका र परेवा बाहेक कुखुरा, हाँस लगायतका पंक्षीहरुको बलिदिने प्रचलन छैन ।

भरतपुर–२३ वडा कार्यालय, महानगर र थारु कल्याणकारिणी सभाको सक्रियतामा पहिलो पूजा गरेर मेलाको सुरूवात गर्ने तयारी छ । विक्रमबाबालाई चितवनका आदिवासी थारु समुदायले परापूर्वकालदेखि मान्दै आएका छन् । थारुहरु प्रकृति पुजक हुन । विक्रमबाबाको पूजा गर्नलाई निकुञ्ज भित्र कुनै मन्दिर छैन । रुखको फेदमा ढूंगाको थान बनाइएको छ । त्यहि थानमा विक्रमबाबाको पूजा हुँदै आएको छ ।

 

 

Share:

सम्बन्धित समाचारहरु