चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत भेटियो, ९ महिनामा १९ गैंडा मरे

चितवन, २२ चैत । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परेको छ ।

चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

 

सो गैंडा प्राकृतिक कारणले मरेको उनको भनाइ छ ।

निकुञ्जले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा मात्रै १९ वटा गैंडा मृत भेटिएका छन् । तीमध्ये १५ वटा प्राकृतिक कारण (बुढो भएर, बाघको आक्रमण र रोग लागेर),चोरी सिकारीबाट तीन र कारण नखुलेको एक गैंडाको मृत्यु भएको छ ।

निकुञ्जमा चालु वर्षको चैत २१ गतेसम्म ३ वटा बाघ, ५ वटा हात्ती, मगर गोही २ र घडियाल गोही १ वटाको मृत्यु भएको छ । यो वर्ष जम्मा ५८ वटा विभिन्न वन्यजन्तुको मृत्यु भएको छ भने १६३ वटा वन्यजन्तुको उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए ।–00–

Share:

सम्बन्धित समाचारहरु