ठुलोबुबाको पशुपतिमा दाहासंकार गरेर गोरखा फर्किदै थिए

त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको खुल्यो परिचय

चितवन, १७ चैत । त्रिशुलीनदीमा ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ।

काठमाडौंबाट गोरखा जान आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका(७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।

सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसी भण्डारीले जानकारी दिए।

 

पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ। ठुलोबुबाको पशुपतिमा दाहासंकार गरेर गोरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेको थियो ।–00–

तस्विरः मुग्लिङ बजार फेसबुक पेजवाट साभार ।

Share:

सम्बन्धित समाचारहरु