राप्ती, १५ माघ। पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ९ वानग्रुपमा तामाङ समुदायको साँस्कृतिक पर्व मंजू श्री सम्बत २८६० डुकः ल्हो ९गरुड वर्ग० सोनाम ल्होछारको अवसरमा यहि माघ २४ गते देखि २७ गते सम्म प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महोत्सव २०८० हुने भएको छ ।
श्रीच्योमदेन दे ढा च्योम गुम्बाको आयोजनामा गुम्बा परिसरमा साँस्कृतिक महोत्सव हुने भएको हो । आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि साँस्कृतिक उत्सवको तयारी र उद्देश्यका बारेमा जानकारी दिएको छ । पुरानो ल्हो (बिरालो बर्ग) को बिदाई र नयाँ ल्हो(गुरुड बर्ग) को स्वागतको रुपना तामाङ समुदायले सोनाम ल्होछार मनाउदै आएका छन् । तामाङ समुदायको परम्परागत संस्कृति जोगाउन र गुम्वालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न महोत्सव आयोजना गरिएको श्रीच्योमदेन दे ढा च्योम गुम्बाका अध्यक्ष देबराज लामाले जानकारी दिए ।
सोनाम ल्होछारलाई थप विशेष बनाउन र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक पर्वको रुपमा विकास गरी स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुको खरिद बिक्रि, विभिन्न मौलिक खानपिन तथा परिकारहरुको बिक्रि वितरण र स्थानीय व्यवसायीहरुको व्यापार व्यवसाय बृद्बि तथा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । चार दिन सम्म चल्ने महोत्सबमा तामाङ साँस्कृति कला प्रबर्द्धन हुनेगरी विभिन्न साँस्कृतिक गतिविधिहरु गरिनेछ। जसमा तामाड मौलिक खानेकुराहरु, भेषभुषा तथा विभिन्न स्थानीय उत्पादनका सामानहरु लगायतको स्टलहरु रहनेछन।
महोत्सबमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिका साथै तामाङ समुदायको लोपन्मुख मौलिक बाजा डम्फु सेलो, खान्दोकी सेलो, म्हेंन्दो माया सेलो, फापरे सेलो र स्थानीय ब्याण्डहरूको प्रस्तुति रहने छ । महोत्सबमा चितवन जिल्ला भरिको तामाङ तथा गैर तामाङ, छिमेकी पालिकाहरु राक्सिराङ, मनहरीबाट करिब ५० हजार दर्शकले अबलोकन गर्ने र करिब १ करोड १० लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको मुनाफाबाट गुम्बाको प्राङ्गणमा २० फिट अग्लो बुद्धको मुर्ति स्थापन गरिने छ ।
महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तर्गत चर्चित सेलो गायक उर्गेन दोङ, बिशाल काल्देन, जितु लोप्चन, एलिना चौहान, श्याम राना, चिज तामाङ, रेखा लामा, ज्योति मगर, सरोज लामिछाने, हास्यकलाकार हर्के हवल्दार, द एक्स ब्याण्डको प्रस्तुती रहने छ । महोत्सवको नेपाल तामाङ घेदुङ संघ जिल्ला समिति र राप्ती नगर समिति संरक्षक रहेको सो छन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सचिव गोमन सिंह लामाले सोनाम ल्होछारको साँस्कृतिक महत्वको बारेमा प्रकास पारेका थिए । पत्रकार सम्मेलनमा राप्तीका उपमेयर देवेन्द्र लामा, निबर्तमान उपमेयर इमानसिंह लामा, वडा नं ५ का वडाध्यक सिताराम तामाङ, नेपाल तामाङ घेदुङ संघ राप्ती नगर अध्यक्ष सन्देश घलानको उपस्थिति रहेको थियो ।—00–


