माडीको वैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

माडी चितवन, १२ मंसिर ।

चितवनको माडीस्थित पर्यटकीय गन्तव्य वैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष डुबेर मानिसको मृत्यु हुन थालेपछि वैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो ।

समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले बताए । माडी नगरपालिका–८ स्थित वैकुण्ठ सामुदायिक वनभित्रको वैकुण्ठेश्वर ताल घुमफिर गर्न दैनिक दर्जनौँ पर्यटक जाने गरेका छन् ।

धार्मिक महत्त्व बोकेको ताल भए पनि यहाँको मनोरम दृश्यकै कारण धेरै पर्यटक भित्रिने गरेका छन् । सुरक्षालगायत अरू तयारी भएपछि मात्र पौडी खेल्न दिइने परियारले जानाकारी दिए ।

खरकट्टास्थित वैकुण्ठ चोकबाट करिब साढे तीन किमि दक्षिण लागेपछि वैकुण्ठ मेलास्थल पुगिन्छ । मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल पुग्न सकिन्छ । घाँघर खोलाको शिरमा रहेको यो तालमा दुई छहरा छन् । चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ ।

“केही वर्षयता ताल अवलोकन गर्न आउने क्रम बढेको छ,” माडी–८ का वडाध्यक्ष वीरेन्द्रबहादुर भण्डारी भने, “अहिले समूहमा वनभोजमा रमाउन आउने धेरै छन् ।” गर्मीयाममा अझै धेरै पर्यटक आउने गरेका छन् । प्रत्येक वर्ष पौडी खेल्दा मानिसको मृत्यु भएपछि पौडी नखेल्न अनुरोध गरिएको भण्डारीले बताए ।

यहाँ बालाचतुर्थीको अवसरमा मेला लाग्छ । यो वर्ष पनि मेलाको तयारी तीव्र पारिएको छ ।

मेला लाग्ने चौरमा वनभोज खान मिल्ने व्यवस्था छ । करिब २०३५ सालतिर घाँस–दाउरा काट्न जाने क्रममा फेला परेको यो ताल ३२ मिटर गहिराइको छ ।

“ताल जोगाउन ड्यामको खाँचो छ, छहरा पनि व्यवस्थित गर्नु छ,” उनले भने, “कृत्रिम ताल यो होइन, अब संरक्षण गर्दा पनि कृत्रिमता झल्काइने छैन ।”

उनले तालको दक्षिणतर्फ पर्यटक लोभ्याउने केही गन्तव्य भेटिए पनि प्रचारप्रसार गर्न नसकिएको बताए । चौरमा संरचना बनाउन यो वर्ष बजेट विनियोजन गरिएको जनाउँदै उनले पर्यटक आकर्षण गर्ने खालका संरचना बनाइने जानकारी दिए । रासस

Share:

सम्बन्धित समाचारहरु