८०० भन्दा बढी ‘हाई रेन्जका–महँगा’ फोन प्रतिबन्ध गरिने

एमडीएमएस प्रणाली आज देखि लागू हुदै

काठमाडौं, २० कात्तिक

नेपाल दूरसञ्चार प्राधिकरणले आज (कात्तिक २० गते) करिब एक हजार फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने भएको छ ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आईएमईआई नम्बर दर्ता नभएका महँगा फोनहरु प्राधिकरणले दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने भएको हो ।

भन्सार पास भएर आउने सबै फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउने व्यक्तिले बोक्ने र ल्याउने फोनको आईएमईआई नम्बर पनि निःशुल्क दर्ता गर्न सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।

यसबाहेक कालोबजारीबाट भित्रिएका फोनहरु मात्रै एमडीएमएसमा दर्ता नहुने भएको भन्दै प्राधिकरणले त्यस्ता फोनमाथि प्रतिबन्ध लगाउने भएको हो ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आज ८०० भन्दा बढी ‘हाई रेन्जका–महँगा’ फोन प्रतिबन्ध गरिने बताएका छन् । उनले भने, “नियमित रुपमा एमडीएमएसमा दर्ता नभएका फोनहरुमा दूरसञ्चार सेवा अवरुद्ध गर्छौं । हामीले टेक्नोलोजी र मूल्यअनुसार हेरिरहेका छौँ । सोमबार हाई रेन्जका ८०० भन्दा बढी फोन ब्लक हुन्छन् ।”

उनले त्यसपछि दर्ता नभएका अन्य फोनहरु दैनिक रुपमा प्रतिबन्ध गरिने बताए । नेटवर्क अपरेटर र पूरै नेटवर्कको सिस्टममै काम गर्नुपर्ने भएका कारण ‘पिक आवर’बाहेकका समयमा ती फोन प्रतिबन्ध गरिने उनले बताएका छन् । उनले भने, “सोमबार पिक आवरभन्दा अघिपछि कतिबेला हुन्छ, हेरेर हामीले ती फोन प्रतिबन्ध गर्छौं ।”

Share:

सम्बन्धित समाचारहरु