बुटवल–तानसेन सडकखण्ड अब रातिमा मात्र बन्द हुने भए

बुटवल, १७ बैशाख । सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न दिउँसो र राति गरी दैनिक ९ घण्टा बन्द हुँदै आएको बुटवल–तानसेन सडकखण्ड अब रातिमा मात्र बन्द हुने भएको छ ।

राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दिनहुँ बन्द हुँदै आएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड अब राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र बन्द हुने भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सडकखण्ड बन्द हुने जानकारी दिए । निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणले दिउँसोमा सडक बन्द नगर्न माग गरेपछि रातिको ६ घन्टा मात्र बन्द गराइएको उनले बताए ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा आवागमन बन्द गर्न माग गरे पनि काममा भने तीव्रता नदिएको भन्दै यात्रुले विरोध गर्दै आएका थिए । पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सादेखि बुटवलसम्म खानेपानीको पाइप गाड्ने र नाली बनाउने कामका कारणसमेत यात्रुले सास्ती पाउने गरेका थिए ।

दोभान बजार नजिकै रामापिथेकस पार्क नजिकबाट सडक डाइभर्सनको काम गत फागुन दोस्रो हप्तादेखि भइरहेको छ । सडकदेखि माथिल्लो भागमा रहेका खुकुला ढुंगाहरु खस्दा दुर्घटनाको जोखिम हुने भएकाले राजमार्गको दोभानदेखि तल्लो सिद्धबाबासम्म सवारी साधन आवागमन बन्द गरेर काम गर्ने वातावरण बनाइएको हो ।–00–

Share:

सम्बन्धित समाचारहरु