फागुन ३० एजेन्सी । रुसले युक्रेनमाथिको जारी आक्रमणका लागि चीनसँग सैन्य र आर्थिक सहयोग माग गरेको अमेरिकी अधिकारीले बताएका छन् ।
फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्ससहितका पत्रिकाले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोगको माग गरिरहेको दाबीसहितको खबर प्रकाशित गरेका हुन् ।
गएको फेब्रुअरी २४ मा राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसले युक्रेनमाथि आक्रमण थालेको हो । १८ दिन बित्दा पनि युद्ध जारी छ । जारी युद्धमा रुसी सैनिकले युक्रेनी भूमिमा त्यहाँका सैनिक तथा स्वयम् सेवकबाट कडा प्रतिरक्षाको सामना गरेका छन् ।
मस्को (रुस)ले युक्रेनमा प्रयोग गर्नका लागि बेइजिङ (चीन)बाट सैन्य सामग्री सहयोग माग गरेको फाइनान्सियल टाइम्समा प्रकाशित खबरमा उल्लेख छ ।
नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकामा प्रकाशित खबरमा रुसले युक्रेनमाथि आक्रमण सुर गरेदेखि नै चीनसँग सैन्य सहयोग माग गरेको दाबी गरिएको छ ।अमेरिकी अधिकारीले रुसले चीनसँग कस्ता हतियार वा सैन्य सामग्री माग गरिरहेको छ भन्ने खुलाएका भने छैनन् । चीनले सहयोगका लागि तयारी गरिरहेको हुन सक्ने शंकेत समेत रहेको खबरमा दाबी गरिएको छ ।
यस्तै न्यूयोर्क टाइम्समा प्रकाशित भएको अर्को खबरमा अमेरिकी अधिकारीलाई नै उद्धृत गर्दै पश्चिमा देशले लगाएको आर्थिक प्रतिबन्धको प्रभाव कम गर्नका लागि रुसले चीनसँग आर्थिक सहयोग पनि माग गरेको उल्लेख छ ।
यस विषयमा रुसले भने कुनै प्रतिक्रिया छैन। अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनले रुसलाई सहयोग दिनु चिन्ताको विषय रहेको बताएका छन्। उनले अहिले आफूहरु निरन्तर चीनले रुसलाई गरेको सहयोगलाई नियालिरहेको बताएका छन्। उनले यस विषयमा चिनियाँ अधिकारीसँग पनि कुरा भइरहेको उनले बताए।उनले कुनै पनि मुलुकले रुसमाथि लगाइएको आर्थिक प्रतिबन्ध कमजोर हुने किसिमका कार्य गर्न नहुने बताए।
अमेरिकाले रुसलाई सहयोग हुने किसिमको कुनै पनि सहयोगको परिणाम राम्रो नहुने चेतावनी यसअघि नै दिइसकेको छ।