तत्काल निर्णय सच्याउन सुझाव

यमोसापर्वको दिन शिक्षक महासंघ चितवनले पठनपाठनगराउने निर्णयप्रति चितवनका थारु समुदायको आपत्ती

चितवन, १७ असोज । संघीय संसदमा दर्ता गरिएको शिक्षा सम्बन्धी कानुनलाई संशोधनका लागि बनाइएको शिक्षा विधेयक २०८० को विरोधमा विद्यालय बन्द गरेर सडक आन्दोलनगर्न गएका शिक्षकहरुले त्यसको सट्टा असोज २७ र २८ गते चितवनका सबै सामुदायिक विद्यालयहरुमा पठकपाठनगर्ने नेपाल शिक्षक महासंघ चितवनको निर्णयप्रति चितवनका थारु समुदायले आपत्ती जनाएका छन् ।

असोज २७ गते चितवन र नवलपुरका थारु समुदायले यमोसा(पृती औशी) पर्व मनाउँदैछन् । यमोसापर्वलाई लक्षित गरेर नेपाल शिक्षक महासंघ चितवनले २७ र २८ गते चितवनका सामुदायिक विद्यालयमा पठनपाठनगर्ने निर्णय गरेको थारु समुदायको आरोप छ । असोज २७ गते शनिवार आफ्नो पृतीहरुको सम्झनामा चितवन र नवलपुरका थारुहरुले यमोसा (पृतीऔशी)पर्व मनाउँदैछन् । थारु समुदायको छातासंस्था थारु कल्याणकारिणी सभा चितवनले नेपाल शिक्षक महासंघ चितवनलाई आफ्नो निर्णय सच्याउन भनेको छ । परम्पराकालदेखि मनाउँदै आएको जितिया, यमोसा(पृतीऔशी), फगुवाको धुरहेरी लगायतका सम्पूर्ण चाडपर्वहरुमा सार्वजनिक विदाको मागगर्दै आएको थारुहरुले यो पटक यमोशा पर्व शनिवारपर्दा समेत आफ्ना बालबालिकाहरु स्कुलजान बाध्य बनाउन थालेपछि त्यसको विरोध गरेका हुन ।

लामो समयदेखि चितवनका थारुहरुले आफ्नो चाडपर्वका बेला सार्वजनिक विदाहुनुपर्ने मागगर्दै आएका छन् । यमोसा पर्वको बेला विगतका वर्षहरुमा स्कुलले परीक्षा लिने गर्दथ्यो । परीक्षाका कारण विद्यार्थीहरुले आफ्नो चाडपर्व समेत खुलेर मनाउन पाउँदैनन् । चाडपर्व मनाउन नपाएपछि आफ्नो चाडपर्वको महत्व र मनाउने तरिकाबारे बेखबरहुने थारु अगुवाहरुको चिन्ता छ । जितिया, यमोसा लगायतका महत्पूर्ण चाडपर्वमा विदादिनुपर्नेमाग गर्दै चितवनका थारुहरुले आन्दोलन गरिरहेका बेला यो वर्ष यमोशापर्व शनिवार पर्दापनि पठनपाठनगर्ने नेपाल शिक्षक महासंघको निर्णयलाई सच्याउन भनेका हुन ।

थारु कल्याणकारिणी सभा चितवनले आज प्रेस विज्ञप्तिजारीगर्दै २७ गते (शनिवार )यमोसा पर्वको दिन पठनपाठनगर्ने निर्णय फिर्तालिन भनेको छ । पटक पटक यस्ता विषयमा सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउँदापनि नेपाल शिक्षक महासंघ चितवनले जबरजस्ती थारुहरुको अस्तित्व समाप्तपार्न खोजेको आरोप छ । यमोशा पर्वको दिन विद्यालयमा पठनपाठन गराउने निर्णय नसच्याए थप संघर्षमा जान बाध्यहुने सभाका सभापति ललितकुमार चौधरी र सचिव शन्तकुमार चौधरीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।

असोज १७ गते मात्रै थारु कल्याणकारिणी सभा चितवनले १५ बुद्धे आफ्नो घोषणापत्र सार्वजनिक गरेको थियो । थारु समुदायले परम्पराकालदेखि मनाउँदै आएको जितिया, यमोसा(पृतीऔशी) फगुवाको धुरहेरी लगायतका महत्वपूर्ण चाडपर्वहरुमा सार्वजनिक विदादिन माग गरिएको छ । घोषणापत्र सार्वजनिक गरिएको सातादिन नवित्दै यमोसा पर्वको अवसरमा पठनपाठनगर्ने नेपाल शिक्षक महासंघ चितवनले गरेको निर्णयलाई थारु समुदायले आफुहरुको पहिचान मेटाउन चलखेल भइरहेको भन्ने बुझेका छन् ।

थाकसले चितवन र नवलपुर क्षेत्रका थारु समुदायले परम्पराकालदेखि धुमधामका साथ मनाउँदै आइरहेको जितिया, यमोशा (पितृ औशी), फगुवाको धुरहेरी लगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन संघीय, प्रदेश र स्थानीय सरकारसंगै सम्बन्धित सबै सरोकारवालासंग जोडदार माग गरेको छ ।

शिक्षक महासंघ चितवनले मंगलबार एक विज्ञप्ती जारी गर्दै आउँदो २७ र २८ गते जिल्लाका सबै सामुदायिक विद्यालयमा पठनपाठन गराउन आह्वान गरेको थियो । शिक्षा विधेयकलाई लिएर गरिएको काठमाडौँ केन्द्रित आन्दोलनका कारण गत असोज ४ र ५ गते विद्यालय बन्द भएका कारण विद्यार्थीहरुलाई क्षति हुन नदिन भन्दै बिदाको दिन पठनपाठन गराउन लागेको हो ।

 

 

 

Share:

सम्बन्धित समाचारहरु