खैरहनी, १२ असोज । पूर्वी चितवनको खैरहनीका १६ औ दराई राष्ट्रिय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।
रामकोला हाम्रो क्लवको आयोजनामा खैरहनी २ चैनपुर स्थित जनजीवन माविको खेल मैदानमा भोली शनिवारबाट प्रतियोगिता सुरु हुने क्लवका अध्यक्ष सुनिल दराइले जानकारी दिए । आयोजक क्लवले शुक्रवार वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । प्रतियोगितमा देशभरबाट १७ वटा टिमको सहभागिता रहने बताए ।
क्लव र दराई ईकाइ समितिको प्रतिनिधित्व गरेर टिमहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । क्वल तथा इकाइ समितिले दराई समुदायकै खेलाडीहरु समावेश गराउनु पर्ने छ । प्रतियोगितामा प्रथम हुने टिमले उपाधिसंगै एक लाख र दोस्रो हुने टिमले ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक मदन दराईले जानकारी दिए ।
जिल्ला बाहिरबाट आउने खेलाडीको लागि खाना र आवासको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न मुल व्यवस्थापन समितिसंगै ६ वटा उपसमिती समेत बनाइएको छ । खेलकुदको माध्यमबाट जातीय पहिचान स्थापित गराउने उद्देश्यले फुटवल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष सुनिल दराईले बताए ।
वडाध्यक्ष रोहिणीप्रसाद उप्रेतीले प्रतियोगिताले दराई समुदायको पहिचान स्थापितसंगै खैरहनीलाई राष्ट्रिय रुपमा परिचित गराउन सहयोग गर्ने भएकाले स्थानीय सरकारले सहयोग गर्ने बताए ।–00–


